Sun. Aug 25th, 2019

दैनिक नेपाल डट कममा प्रकाशित सर्जक मिन दर्लामीको जिवनी

1 min read
Love to Share :

लोक गीत सँगितका सर्जक मीन दर्लामीको तन अमेरिका भए पनि मन त नेपाल मै…

दैनिक नेपाल २०७२ फागुन ५ गते १४:४३
www.dainiknepal.com प्रकाशित…।

नेपाली सांगीतिक क्षेत्रले विस्तारै पाइला चालिरहेका बेला धेरै कलाकार विदेश पलायन हुने क्रम बढ्दै गएको छ । विदेशमा पुगेपछि कलाकारहरु त्यहिको रमझममा भुल्ने गरेका छन् । तर केही श्रष्टा यस्ता पनि छन् जसको तन विदेशमा भए पनि मन चाहिँ नेपालमै छ । त्यस्तै सर्जक मध्येका एक हुनुहुन्छ– लोक गीत सर्जक मीन दर्लामी । को हुन् दर्लामी, अनि के कसरी आयो उहाँको जीवनमा उतारचढाव र पुग्नु प-यो सात समुद्रपारी । त्यहाँ पुगेपछि उहाँले नेपाली सांगीतिक क्षेत्रमा कसरी योगदान पु-याइ रहनु भएको छ त ? त्यसबारे जानकारी लिन पढौं उहाँको यो संघर्षमय जीवन यात्रा ।

लोक गीत संगीतका सर्जक मीन दर्लामीको नाम धेरै नेपालीले सुनेकै हुनुपर्छ । २०३१ साल जेठ ११ गते बाबु दल बहादुर र आमा समीदेवीको कोखबाट जन्मिनु भएका मीन दर्लामी सानै उमेरदेखि नै गीत संगीतमा रम्दै र रमाउँदै अनि गाउँदै र नाच्दै हिँड्ने गर्नुहुन्थ्यो । दर्लामीको स्कुले जीवन गाउँ नजिकैको देउराली प्राथमिक विद्यालबाट सुरू भएको हो । उहाँले माध्यमिक तहको शिक्षा रामराज्य माध्यमिक विद्यालय दोहोलीबाट पुरा गर्नुभयो । दर्लामीको सांगीतिक यात्रा कक्षा ४ मा पढ्दै गर्दा स्कुलको वार्षिकोत्सवमा गरिएको सांस्कृतिक कार्यक्रमबाट शुरू भएको हो । मीन दर्लामी साथीसंगीसँग मिलेर गाउँमा हुने सांस्कृतिक कार्यक्रममा गीत लेख्ने, गाउने, नाच्ने, नचाउने र नाटक कमेडी गरेर दर्शक तथा स्रोतालाई मनोरन्जन दिन खप्पिस हुनुहुन्थ्यो । गाउँमा हुने विवाह ब्रतबन्ध तथा सांस्कृतिक कार्यक्रममा पञ्चेबाजा, भजन, कीर्तनमा नाच्न र गाउनमा पनि उहाँलाई कसैले भेट्दैनथ्यो ।
सानै उमेरदेखि दर्लामीलाई वरिष्ठ लोक दोहोरी गायक बोमबहादुर कार्की र स्वर्गीय लोकबहादुर क्षेत्रीका गीतले विशेष आकर्षित गरेको थियो । उहाँहरुका गीत सुन्दै हिँड्ने दर्लामीलाई आफू पनि एउटा सफल कलाकार बन्ने चाहना त्यसबेलै थियो । रेडियो नेपालमा घन्कने दोहोरी गीत सुन्दै आफू पनि एउटा सफल कलाकार भएर रेडियोबाट आफ्नो आवाज गुन्जाउने सपना उहाँमा देखिएको थियो । कुनै पनि व्यक्तिले आफ्नो सफलताका लागि सपना देख्नु कुनै ठूलो कुरा भने होइन । तर सफलताको सिंढी चढ्न मेहनत अवश्य गर्नुपर्छ भन्ने बुझेका दर्लामीले आफूलाई पछाडि पार्ने काम कहिल्यै गर्नुभएन । त्यसैले त दर्लामीलाई गाउँघरका मानिसहरुले ‘चौतारी’को उपनाम नै दिएका थिए । जोसुकैसँग बोल्दा होस् या केही कुरा भन्नुपर्दा उहाँले गीतबाटै अभिव्यक्त गर्ने गर्नुहुन्थ्यो । त्यसैले पनि उहाँलाई त्यसबेला ‘चौतारी’ भन्ने गरिएको थियो ।
गीत संगीत क्षेत्रमा आफ्नो रुची भए पनि त्यसलाई राष्ट्रिय स्तरमा पुर्याउन भने दर्लामीलाई समस्या भइरहेको थियो । त्यसै क्रममा उहाँ राष्ट्र सेवकका रुपमा नेपाल प्रहरीमा भर्ना हुनुभयो । प्रहरी संगठनमै भए पनि गाउँले परिवेशमा हुर्किएका दर्लामीलाई गीत संगीतको रुचीमा भने कुनै कमी आएन । बाल्यकाल देखिको सपना साकार पार्ने उहाँको चाहनाले पनि हार खाएन । उहाँ आफ्नो समय मिलाएर विभिन्न लोकदोहोरी गीत प्रतियोगितामा सहभागी हुनुभयो । त्यस्ता प्रतियोगितामा सहभागी हुँदा उहाँले दर्शकलाई भरपुर मनोरन्जन दिन कुनै कसर बाँकी राख्नु भएन । समय मिलाएर भए पनि उहाँले एक दिन सफल कलाकार बनेरै छाड्ने अठोट जारी राख्नुभयो ।
दुर्गम जिल्ला गोरखामा कार्यरत रहँदा उहाँको मन मस्तिष्क भने राजधानी मै थियो । राजधानी सरुवा भएपछि गीत संगीतको क्षेत्रमा केही नयाँ काम गर्ने उहाँको जोस कायमै थियो । नभन्दै २०५८/५९ तिर आफ्नो जागिरको सरुवा सपनाको शहर काठमाडौ मै भयो । त्यसपछि उहाँ सपनालाई विपनामा परिणत गर्ने दिशातर्फ उन्मुख हुनुभयो ।
काठमाडौं आएलगत्तै उहाँ आफ्ना गीत बोकेर नयाँबजारस्थित ‘काठमाडौं डिजिटल’मा पुग्नुभयो । डिका गुरुङले सञ्चालन गरेको ‘काठमाडौं डिजिटल’ त्यस बेलाको काठमाडौ कै नम्बर एक रेकर्डिङ स्टुडियो थियो । उहाँले दुर्गा गुरुङको म्युजिक एरेन्जमा ‘आउँछु फर्केर’ नामक एल्बम रेकर्ड गराउनुभयो । जसमा ‘आउँछु फर्केर’ शीर्ष बोलको गीत र आफ्नै गाउँठाउँका वास्तविक झ्याउरे गीत समावेश थिए । जुन एल्बमको गायनमा दर्लामीलाई राजु परियार, विमाकुमारी दुरा र कृष्ण परियारले साथ दिनु भएको थियो । गायक बलबीर थापाको विशेष सहयोगमा ‘रारा अडियो क्यासेट सेन्टर’ न्युरोडले ‘आउँछु फर्केर’ एल्बमलाई बजार ब्यवस्थापन गरेको थियो । दुवै गीतको भिडियोमासमेत सर्जक दर्लामीकै अभिनय थियो ।
रेडियो नेपालमा घन्कने दोहोरी गीत सुन्दै आफू पनि एउटा सफल कलाकार भएर रेडियोबाट आफ्नो आवाज गुन्जाउने सपना उहाँमा देखिएको थियो । कुनै पनि व्यक्तिले आफ्नो सफलताका लागि सपना देख्नु कुनै ठूलो कुरा भने होइन । तर सफलताको सिंढी चढ्न मेहनत अवश्य गर्नुपर्छ भन्ने बुझेका दर्लामीले आफूलाई पछाडि पार्ने काम कहिल्यै गर्नुभएन ।
पहिलो एल्बम ‘आउँछु फर्केर’लाई बजारमा पठाउन सहज भए पनि दर्लामीलाई आफ्नो दोस्रो एल्बम निकाल्न भने सा-है सकस भयो । ‘माया रैछ खेल’ गीत राखेर सोही नामको दोस्रो एल्बम निकाल्ने चाहना राखेर उहाँले म्युजिक कम्पनीहरुमा धाउन शुरु गर्नुभयो । तर यो धाउने क्रममा उहाँको मनमा चोटबाहेक केही हात लागेन । कम्पनीले म सुन्छु र बजार पठाउँछु भनेर गीतको ओरिजनल कपी ‘ड्याट’ लिने र महिनौं राख्ने काम गर्न शुरु ग-यो । आफूले महिनौंसम्म गीतको ओरिजनल कपी राखेपछि पछि अर्कैले गाएको रहेछ भन्दै फिर्ता दिने क्रम धेरै समयसम्म रह्यो । ‘माया रैछ खेल’ एल्बम र कम्पनीहरुले दिएको पीडालाई सर्जक दर्लामीले अहिलेसम्म भुल्न सक्नुभएको छैन ।
दोस्रो एल्बम सार्वजनिक गर्न नपाएको पीडा बोकेर भौंतारिइरहेका सर्जक दर्लामीले म्युजिक कम्पनीहरुलाई ठूलै जवाफ दिने तयारी गर्नुभयो । उहाँले त्यसको पाँच वर्ष पछि तेस्रो एल्बम निकाल्ने तयारीसमेत गर्नुभयो । ‘जोर शंख फुकेर’ बोलको उहाँको गीत त्यस बेलासम्म हिट भइसकेको थियो । ‘जोर शंख फुकेर’ बोलको गीतले सर्वाधिक सफलता हात पारेपछि उहाँलाई पहिले पीडा दिनेहरुले समेत बधाई दिन थालेका थिए । त्यसलाई दर्लामीले उर्जाको रुपमा लिनुभयो ।
लोक गीत संगीतका सर्जक मीन दर्लामीको थप एल्बम निकाल्ने धोको अझै पूरा भएको थिएन । त्यसपछि उहाँले ‘लाउँथें माया घातैघात भो’ नामको एल्बम बजारमा ल्याउनुभयो । गायक नन्दु श्रीसको सहयोगमा उहाँकै ‘उत्तर गंगा क्यासेट सेन्टर’ पुतलीसडकले यो एल्बम बजारमा ल्याएको हो । यो गीतमा राजु परियार र बिष्णु माझीको स्वर रहेको छ । गीतको लय पनि मीन दर्लामीको नै थियो । म्युजिक भिडियोको निर्देशन भने कृष्ण फिल्मस्मार्फत् शंकर बिसीले गर्नुभएको थियो ।
‘लाउँथें माया घातैघात भो’ एल्बमको प्रचारप्रसारका लागि उहाँले देशका धेरै ठाउँको यात्रा गर्नुभयो । गायक नन्दु श्रीससँगै देश दौडाहामा निस्किएर सर्जक दर्लामीले आफ्नो एल्बमको प्रचार गर्नुभयो । त्यस क्रममा उहाँले धेरै सञ्चारकर्मीहरुसँग पनि भलाकुसारी गर्नुभयो । सञ्चारमाध्यमबाटसमेत ‘लाउँथें माया घातैघात भो’ एल्बमको प्रचारप्रसार भयो र यसले लोकप्रियता कमाउँदै गयो । स्रोताबाट पनि यो गीतका बारेमा राम्रो प्रतिक्रिया पाएपछि उहाँ झन् उत्साहित हुनुभयो । सञ्चारकर्मीसँगको अन्तक्रिया र मिडियासँगको सम्बन्धका बारेमा पनि उहाँले यसै एल्बमबाट धेरै जानकारी पाउनु भएको थियो ।
गायक नन्दु श्रीसको आग्रहमा यो एल्बमको ‘बी’ साइडमा हालका चर्चित तथा सहारा प्रिय गायक र त्यो बेला भर्खरै सांगीतिक फाँटमा उदाउँदै गरेका सुमधुर स्वरका धनी नवगायक खुमन अधिकारीको स्वरांकन भएको गीत ‘मन भा’छ एकोरो… चुडी गयो मायाको डोरो नहुँदा दोहोरो’ रेकर्ड गराइएको थियो । त्यो नै दर्लामीको खुमन अधिकारीसँगको प्रथम सहयात्रा थियो । जुन सम्बन्ध नङ र मासुबीचको जस्तै आजसम्म पनि अटल रहँदै आएको छ ।
सर्जक मीन दर्लामीलाई गीत संगीतको क्षेत्रमा अझै रुची बढ्दै गएको थियो । बजारमा आएका एल्बम चर्चित र लोकप्रिय हुँदै गएका थिए । गायक नन्दु श्रीसले मिडियासँगको सम्बन्ध राम्रो बनाइदिएपछि प्रचार प्रसारमा समेत सहजता हुँदै गएको थियो । त्यसबाट उत्साहित दर्लामीले आफ्नो चौथो एल्बम निकाल्ने तयारी गर्नुभयो । काठमाडौंको ‘सुर–ताल म्युजिक’ अनामनगरबाट उहाँले ठट्यौली गीतले भरिएको ‘आलु परौठा’ नामको चौथो एल्बम बजारमा ल्याउनुभयो । यो गीतबाट सर्जकले राम्रो र नराम्रो दुबै प्रतिक्रिया पाउनुभयो । यो गीतमा चर्चित गायक खुमन अधिकारी र विष्णु माझीको स्वर रहेको थियो । तर पछि कसैले षड्यन्त्रपूर्वक खुमन अधिकारीको स्वर हटाउन लगाएको तीतो अनुभव पनि सर्जकसँग छ । पछि त्यही गीतलाई राजु परियारले गाउनुभएको थियो ।
त्यसको केही महिनापछि नै सर्जक मीन दर्लामीले ‘सुर–ताल म्युजिक’बाटै पाँचौ र सुपर डुपरहिट लोक दोहोरी गीतको एल्बम ‘जोर शँख फुकेर’ बजारमा ल्याउनुभयो । बाबुराम पन्थीका शब्द रहेको यो गीत खुमन अधिकारी र विष्णु माझीको सुमधुर स्वरले सजिएको थियो । गीतको लय सिर्जना सर्जक मीन दर्लामीले नै गर्नुभएको थियो । प्रिज्म रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो गीतको एरेन्जर बि बी अनुरागीले गर्नुभएको थियो । यो गीतको भिडियोमा चर्चित मोडेल रञ्जिता गुरुङ र मोडल तथा चर्चित गायक पुष्कल शर्माले अभिनय गर्नुभएको थियो । म्युजिक भिडियोको निर्देशन साइभिजन प्रालिमार्फत् प्रकाश भट्टले गर्नुभएको थियो । ‘जोर शंख फुकेर’ एल्बम मार्फत् कम्पनी, सर्जक, कलाकार गायक, गायिका, मोडेल, क्यासेट डबिङ गर्ने कम्पनी, क्यासेट डिलर देखि क्यासेटका खुद्रा पसलहरूलाई समेत प्रत्यक्ष अप्रत्यक्ष रूपमा धेरै लाभ पुर्याएको थियो ।
त्यस लगत्तै ‘सुर–ताल म्युजिक’बाटै खुमन अधिकारी र बिष्णु माझीको स्वर, बाबुराम पन्थीको शब्द र मीन दर्लामीको लय सिर्जनामा ‘म त जिउँदैछु’ नामको एल्बम बजारमा आएको थियो । यो गीतले पनि गीत संगीतप्रेमी स्रोताको राम्रै प्रतिक्रिया पायो अर्थात् एल्बम सफल भयो । यसै क्रममा सर्जक दर्लामीको लय बाबुराम पन्थीको शब्द अनि खुमन अधिकारी र बिष्णु माझीको स्वरमा सर्जक दुर्गा केसीका नाममा ‘अल्लारे ठिटो’ नामक एल्बम बजारमा आयो । गीतको एरेन्जर विनोद बाजुरालीले गर्नुभएको थियो । यो गीतलाई पनि स्रोताले राम्रै माया दिए ।
आफू संलग्न गीतले बजारमा राम्रो प्रभाव पारेपछि सबै सर्जक उत्साहित हुनु स्वभाविकै हो । सर्जक दर्लामीले आफ्नो मेहनतलाई जारी राख्नुभयो । यसैक्रममा भगवती म्युजिक प्रालिमार्फत् सर्जक मीन दर्लामीको लय सिर्जनामा राजकुमार बगरको शब्द अनि खुमन अधिकारी र बिष्णु माझीको सुमधुर स्वरमा सजिएको सुपरहिट लोक तथा दोहोरी गीत ‘एउटै डोरी पासो लगाम भो’ र बाबुराम पन्थीको शब्द र मीन दर्लामीको लय सिर्जनामा स्रोताको मन मुटु छुन सफल गीत ‘मनै छैन र’ भन्ने गीत पनि बजारमा आयो । यो एल्बम निर्देशक प्रकाश भट्ट मार्फत् बजारमा आएको थियो । दुबै गीतलाई संगीतकार बि बी अनुरागीले एरेन्जर गर्नुभएको थियो । जुन गीतले स्रोताको मन मुटु जितेर सफल पनि भयो र प्रकाश भट्टको निर्देशकीयलाई अझै फराकिलो बनायो । त्यति मात्र नभएर प्रकाश भट्ट र साईभिजन प्रालीलाई स्थापित गराउने काम पनि ग-यो ।

गीतसंगीत सिर्जना सफल हुँदै गएका बेला सर्जक मीन दर्लामी ‘डि.भी.’ परेर स–परिवार अमेरिका हानिनुभयो । नेपाली लोक संगीतको क्षेत्रमा माया र ममता भए पनि सर्जक दर्लामीले त्यसबाट टाढा भएर करिब तीन वर्ष अमेरिकामै बिताउनुभयो । सात समुद्र पारी भए पनि गीत संगीतको क्षेत्रमा फर्कने उहाँको चाहना भने मरेको थिएन । तीन वर्षको अमेरिका बसाईपछि नेपालमा आएका बेला उहाँले फेरि नयाँ गीत प्रिज्म रेकर्डिङ स्टुडियोमा ‘पहिला भन्दा बेग्लै’ अर्को नयाँ लोक दोहोरी गीत रेकर्ड गराउनुभयो । ‘पहिला भन्दा बेग्लै’ बोलको गीतको म्युजिक भिडियो पनि बनेको छ । जुन गीतलाई आशिष म्युजिक प्रालिले बजार ब्यबस्थापन गरेको छ । यो गीतको म्युजिक भिडियोमा नायक धिरेन शाक्य र रञ्जिता गुरुङले अभिनय गर्नुभएको छ । यो म्युजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गर्नुभएको छ ।
गत वैशाख १२ गतेको विनासकारी भूकम्प आउनु केही समय पहिले नेपाल आएर बचेको समयलाई सदुपयोग गर्दै सर्जक मीन दर्लामीले अर्को नयाँ लोक दोहोरी गीत ‘सुन मेरी साथी’ नामको एल्बम बजारमा ल्याउनुभएको छ । जुन गीतमा श्रीमान र श्रीमती (जिवन साथी) बीचको दर्दनाक कथा समेटिएको छ । यो गीतमा लय सिर्जना सर्जक मीन दर्लामीको छ भने शब्द बाबुराम पन्थीले लेख्नु भएको छ । यो एल्बममा चर्चित गायक खुमन अधिकारी र गायिका देवी घर्तीमगरले स्वर दिनुभएको छ । ‘सुन मेरी साथी’ गीतलाई तृसना म्युजिक प्रालिले बजार व्यवस्थापन गरेको छ । यो गीतको भिडियोमा बाबुराम बोहोरा र रञ्जिता गुरुङ अनि सर्जक मीन दर्लामीले अभिनय गर्नुभएको छ । 4s मिडिया मार्फत शिव विकले निर्देशन गरेको यो गीतको रेकर्डिङ मालाश्री रेकर्डिङ स्टुडियोमा गरिएको हो । एरेन्जर बिनोद बाजुराली रहेको यो गीतको मिक्सिङ कुमार रानामगरको छ ।
कलाकार सर्जक मीन दर्लामी स–परिवार अमेरिका बस्दै आए पनि उहाँलाई नेपाली गीत संगीतको मोह भने भंग भएको छैन । अमेरिका बसे पनि नेपाली लोकगीतका क्षेत्रमा केही नयाँ पन दिने प्रयास उहाँले कायमै राख्नुभएको छ । आगामी दिनमा पनि उहाँले नेपाली गीत संगीतको क्षेत्रमा निरन्तर सहयोग पु-याउँदै जानु हुनेछ भने विश्वास गर्न सकिन्छ ।

Love to Share :

Leave a Reply